तपाईँ सुन्दै हुनुहुन्छः

मेची नदीमा छठ पूजाको भव्य तयारी

भद्रपुर, झापा । प्रदेश नम्बर १ को सर्वाधिक सहभागिता रहने छठ पूजा समारोहको पहिचान बनाएको झापाको भद्रपुरस्थित मेची नदीमा यस वर्ष सार्वजनिक छठ पूजा समारोहको भव्य तयारी गरिएको छ ।

मैथिल समाज झापा र भद्रपुर नगरपालिकाको संयुक्त आयोजनामा भद्रपुरको मेची किनारमा सबै जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजाको तयारी गरिएको समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिनुभयो ।

यसवर्ष कात्तिक २४ गते साँझ अस्ताउँदो सूर्य र २५ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चनासहित छठ पूजा समापन गरिने अध्यक्ष झापाले बताउनु भयो । 

नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा मनाइँदै आएको छठ पर्वमा यस वर्ष झण्डै ५ हजार पूजास्थल निर्माण गरी ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवै पट्टिबाट भक्तजनले पूजा अर्चना गर्न पाउने छन् । पूजास्थलको निर्माण सम्पन्न भइसकेको छ भने मेची खोला किनारलाई झकिझकाउ पार्ने कार्य भइरहेको पनि अध्यक्ष झाले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकाले दर्शनार्थीको आवतजावत सहजताका लागि नदीको बीच भागमा बाँसको अस्थायी पुल निर्माण गरिदिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गरेर छठ पर्व मनाउन आग्रह पनि गर्नुभएको छ ।

गत वर्ष कोरोना महामारीका कारण पूजाका सम्पूर्ण गतिविधि रोकिएका थिए । त्यस कारण पनि यस वर्ष दर्शनार्थीको सङ्ख्या विगतको भन्दा बढ्ने र सोही अनुसार तयारी गरिएको मैथिल समाज झापाका सचिव सुशील कर्णले जानकारी दिनुभयो ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्नेछन् भने विगत वर्षहरूमा जस्तै नेत्र ज्योति समाजलगायत सामाजिक सङ्घ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गर्ने भएका छन् ।

नेपालका मात्र नभएर भारतको विहार तथा बङ्गाल राज्यका व्रतालु भक्तजनहरूले पनि यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको मैथिल समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button