तपाईँ सुन्दै हुनुहुन्छः

समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूको बैठकले सरकार सञ्चालनमा सहयोग पुर्‍याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् । 

पहिलो संयोजन नेपाली काँग्रेसले गर्नेछ । काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उहाँले जानकारी दिनुभयो । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उहाँको भनाइ छ ।  

File photo

राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उहाँले बताउनुभयो । गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताउनुभयो । 

न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button