तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटाले बाह्रबिसे तातोपानी खण्डको अवलोकन गर्नुहुने

सिन्धुपाल्चोक । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी खण्डको अवलोकन गर्नु हुने भएको छ । अवलोकनमा सभामुख सापकोटासँगै अर्थमन्त्री जनार्दन शर्मा पनि रहनुभएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

उहाँहरूले तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको छ । सभामुख सापकोटाले तातोपानी नाकाबाट हुने आयात निर्यात एवं सडक मार्गलाई व्यवस्थित गर्ने विषयमा लगातार पहल गर्दै आउनु भएको छ ।

सो क्षेत्रको स्थलगत जानकारी लिएपछि उहाँहरू तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयमा आएका ठुला पहिरोका कारण केही बर्ष यता अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे तातोपानी  सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन । कोभिड–१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा २०७१ सालमा आएको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७४ मा लार्चा पुल नै पहिरोमा परी बगेको, २०७५ मा साधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो ।

२०७६ सालको अन्त्यबाट विश्वव्यापी रुपमा देखा परेको कोभिड–१९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो । भूकम्पपछि सभामुखको पहलमा खुलेको तातोपानी नाका व्यवस्थित गर्न र राजमार्गमा आइपर्ने व्यवधान हटाइ राजमार्ग सुचारु  गर्न सभामुखकै पहलमा  काम हुँदै आएको छ ।

सिन्धुपाल्चोकले २०७१ साल यता लगातार ठुला प्राकृतिक विपत्ति भोग्नुपरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button