तपाईँ सुन्दै हुनुहुन्छः

जनगणनाको तयारी पूरा

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले यही कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुन लागेको राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको जनाएको छ । 

राष्ट्रिय जनगणनाका सन्दर्भमा मिडिया एक्सन नेपालले आज काठमाडौँमा आयोजना गरेको सञ्चार अभिमुखीकरण कार्यक्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले संविधानले व्यवस्था गरेअनुसार  विभिन्न जाति, भाषा, लिङ्ग, धर्म, वर्ग र पक्षको नयाँ  तथ्याङ्क ल्याउने गरी जनगणनाको तयारी पूरा भएको जानकारी गराउनुभयो । 

युएनएफपिए नेपाल कार्यालयका अफिसर इन्चार्ज डा हसिना बेगमले कोभिड–१९ संक्रमणकाबीच हुन गइरहेको जनगणनाबारे आम नागरिकहरूमा सूचना पुर्‍याउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारहरूले सत्य तथ्यका आधारमा सूचना दिई नागरिकलाई सुसूचित गराउनुपर्ने बताउनुभयो ।

त्यसै गरी नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राज्यले अघि बढाएका महत्त्वपूर्ण कार्यक्रममा नागरिकलाई सहभागी गराउन सञ्चार क्षेत्रले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै जनगणनालाई दायित्वका रुपमा लिएर अभियानकै रुपमा सही तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ पत्रकार नम्रता शर्माले खोजी पत्रकारिताको माध्यमबाट समेत जनगणना जस्ता विषयलाई यथार्थपरक रुपमा सम्पन्न गराउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाको पूर्वसन्ध्यामा सातै प्रदेशका करिब दुई सय पत्रकारलाई जनगणनाबारे अभिमुखीकरण गराइएको जानकारी दिनुभयो । 

केन्द्रीय तथ्याङ्क  विभागले हरेक दस वर्षमा राष्ट्रिय जनगणना गर्दे आएको छ । विभागले  यही कात्तिक २५ गतेदेखि  मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना २०७८ सञ्चालन गर्न गइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button