झापामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु, पाँचजना घाइते

भद्रपुर, झापा।झापाको बिर्तामोड र मेचीनगरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भाइटिकाको दिन पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि इस्टेट अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको रातो रङको पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटरमा सवार मेचीनगर– १० निवासी १६ वर्षीय मनिष कार्कीको मृत्यु भएको र उनका बुबा स्कुटर चालक मेचीनगर–१० निवासी ४२ वर्षीय डिल्ली कार्की, नम्बर नखुलेको मोटरसाइकलको पछाडि सवार हल्दिबारी गाउँपालिका–४ निवासी २१ वर्षीय पिजेश लामा घाइते भएका छन् ।घाइतेको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक हल्दिबारी– ४ निवासी २५ वर्षीय नरेश तामाङ फरार रहेकोले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ स्थित तेलीवारिमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठोक्किँदा प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचीनगर–८ निवासी १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको डिएसपी राकेश थापाले बताउनुभयो । उनको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकल चालक मेचीनगर– ८ निवासी २१ वर्षीय अनीश गिरी, प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी २१ वर्षीय निकेश शिवकोटी, सोही मोटरसाइकलमा पछाडि सवार मेचीनगर– ८ निवासी २१ वर्षीय प्रवीण मेचे घाइते भएका छन् । उनीहरूको विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्