तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा किसानलाई अनुदानमा बीऊ उपलब्ध

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले आलु खेतीलाई प्रवर्द्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । 

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यस वर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँच वटै वडाका आलु किसानलाई वितरण गरेको हो । 

आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

त्यहाँका पीपल डाँडा, हुँगी लगायत क्षेत्र आलु उत्पादनको राम्रो पकेट क्षेत्र मानिन्छ । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा किसानले आलु खेती गरेका छन् । गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि त्यहाँका किसान हिजोआज आलु खेतीमा आकर्षित हुन थालेका छन् । 

घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button