ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउने चटारो

ताप्लेजुङ । तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउने चटारो छ ।
अलैँची पाक्ने याम सुरु भएसँगै त्यहाँका किसानको व्यस्तता बढेको हो ।
ताप्लेजुङको फुक्ताङलुङ गाउँपालिका किसानहरूलाई हिजोआज अलैँची टिप्न र सुकाउन भ्याइनभ्याइ छ ।
तिहारको व्यस्तताका बीच स्थानीय किसानहरू अलैँची खेती स्याहार्न व्यस्त भएका छन् ।
फुक्ताङलुङ लेलेपका राजकुमार राई तिहारका बेला पनि अलैँची टिप्न र सुकाउनमै व्यस्त हुनुहुन्छ । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उहाँले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आउनुभएको छ ।
फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याई नभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु यति बेला लिम्बूको दिनचर्या बनेको छ ।
उहाँले वर्षमा करिब १३ मनसम्म अलैँची बिक्री गर्दै आउनुभएको छ ।
मसला, जडीबुटी र औषधिका रूपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताउनुभयो ।
अलैँची बिक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ ।
थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा अलैँची उत्पादन गरिँदै आएको छ ।
पछिल्लो समय अलैँचीको बिक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो ।
अलैँचीको बजार मूल्य मनको एक लाख २० हजारसम्म पुगेको छ । वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख विनय महर्जनले जानकारी दिनुभयो ।
जिल्लामा करिब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष जिल्लामा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्