बालगृहमा सामूहिक भाइटिका

म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटिका लगाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटिका पर्व मनाएका हुन् । अस्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटिका कार्यक्रमको आयोजना गरिएको हो ।

बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटिका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताउनुभयो । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।
नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटिका आयोजना गर्न पूजा सामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आबद्ध चेलीहरूलाई धन्यवाद दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्