तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन : अध्यक्ष नेपाल

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावसम्म पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) पार्टी मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आगामी चुनावमा पाँच दलीय गठबन्धन बलियो हुने बताउनुभयो ।

अध्यक्ष नेपालले सङ्घीय संसद्को चुनाव संविधानले निर्धारण गरेको मितिमा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्सन हुँदैन, छिटै चुनाव हुनेवाला छैन, सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा सङ्घीय उपनिर्वाचन पनि अब हुन्छ ।”

उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने दाबी गर्दै कलम छापको अभियान अघि बढ्दै जाने बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेमै बसेका १० भाइलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ । उहाँले १० भाइलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुल्ला रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा टुक्रा हुन्छ भन्दै अहङ्कार अब धेरै दिन टिक्दैन भन्नुभयो । आफ्नो राम्रो पार्टी रहेको र सही निष्कर्ष पुग्ने पार्टी भएको दाबी गर्दै उहाँले अब कलम छापलाई जिताएर देशमा समाजवाद ल्याउने दाबी गर्नुभयो । 

अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरूको लहर बढेको भन्दै निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरूको हालत खत्तम बनाउने छौँ भन्नुभयो । 

एमाले नेता महेश बस्नेततर्फ सङ्केत गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “तपाईँको भक्तपुरमा तह लगाउने, हात खट्टा भाँच्ने प्रवृत्तिका मान्छे बस्छन्, त्यस्ता प्रवृत्तिलाई छाडेर अगाडि बढ्नुस् ।”

एमाले अहिले गफाडीको जमात जस्तै भएको टिप्पणी गर्दै उहाँले एमालेमा अध्यक्ष केपी ओलीले सबै ढोका बन्द गरेर निसासिने बनाएपछि बाध्य भएर बाहिर आउनुपरेको बताउनुभयो ।

कार्यक्रममा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज ध्रुर्वराज विष्ट, नेकपा समाजवादीका जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतले भक्तपुरमा चुरीफुरी गर्नेहरूलाई आगामी चुनावमा हैसियत देखाइदिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button