फेरि ठडिँदैछ महाकवि देवकोटाको घर

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको उत्तरार्ध बिताउनुभएको घरको नेपाल प्रज्ञा प्रतिष्ठानले पुनर्निर्माण गरिरहेको छ ।
काठमाडौँको मैतीदेवीमा रहेको महाकवि देवकोटाको कवि कुञ्जलाई देवकोटा सङ्ग्रहालयका रुपमा निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
मैतीदेवी र डिल्लीबजारको बीचमा पर्ने शास्त्री मार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको नयाँ बनाउन लागिएको घरको पहिलो तलाको ढलान गर्ने बेला भएको छ । दैनिक २० जना मजदुरले घर निर्माणका लागि काम गर्दै आएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटाको परिवारबाट २ करोड ५० लाख रुपैयाँ मोहियानी हक तिरेर कवि कुञ्जलाई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ बनाउने काम सुरु गरेको हो ।
देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तला २०१४ सालमा थपिएको थियो भने २०४८ सालमा झिङटीको छानो हटाएर एक तला थपी जस्ता लगाइएको थियो । २०७२ सालको विनाशकारी भूकम्पबाट घर थप क्षतविक्षत भएपछि प्राविधिकले मर्मत गर्न नमिल्ने र भत्काएर बनाउनुपर्ने सुझाव दिएअनुसार नै सङ्ग्रहालय बनाउन लागिएको नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
महाकविको घर बनाउन सुरु गरिएपछि केही व्यक्तिहरूले पुरानो घर भत्काउन नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पुरातत्त्व विभागको समन्वयमा घरको पुनर्निर्माण गर्नु भन्ने आदेश दिएपछि झिङटीको छानो हुँदाका बखतकै स्वरूपमा तीन तलाको सङ्ग्रहालय बन्न लागेको छ ।
महाकवि देवकोटाको निधन भएको ६ दस दशकपछि परिवारले घर पुनर्निर्माण गरिदिनुपर्यो भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवेदन दिएका थिए । महाकवि देवकोटाको माइली छोरी अम्बिकादेवी रिमाल सरकारले घर पुनः बनाएर सङ्ग्रहालयका रुपमा विकसित गरिदिँदा विश्वमै नेपालमा कविलाई सम्मान गरेको सन्देश जाने बताउनुहुन्छ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोको निधन भएको ६ दशकपछि बन्न लागेको सङ्ग्रहालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ ।
प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ । परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई÷तीन वटासम्म गाडी पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ ।
सङ्ग्रहालयको पहिलो तलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्य दृश्य सामग्री रहने छन् ।
पहिलो तलमै सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ ।
दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् ।
तेस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वानहरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू/शोधपत्रहरू रहनेछ ।
महाकवि देवकोटाको जन्म घर भने डिल्लीबजारस्थित धोबी धारामा छ । देवकोटाले जीवनको ३६ वर्ष त्यही घरमा बिताउनुभयो । उहाँले महत्त्वपूर्ण कृतिहरू रचना त्यही घरमा बसेर गर्नुभएको थियो । उक्त घर अंशबन्डाका क्रममा उहाँका भाइ मित्रनाथ देवकोटाको भागमा परेको थियो ।
प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्राध्यापक उपाध्याय राज्यले त्यो घरलाई पनि किनेर सङ्ग्रहालयमा रूपान्तरण गर्न सक्यो भने महाकवि देवकोटाको समग्र व्यक्तित्व र कृतित्व एकै ठाउँमा पाउन सकिने र देवकोटाप्रति सच्चा सम्मान हुने बताउनुहुन्छ ।
१९६६ साल कार्तिक २७ गते तिहारको लक्ष्मी पूजाका दिन जन्मनुभएका कारण महाकवि देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको थियो । नेपाली साहित्य आकाशमा कविता, आख्यान नाटक र निबन्ध विधामा कलम चलाएर उत्कृष्ट कृतिको रचना गर्नुहुने बहुमुखी प्रतिभाका धनी महाकवि देवकोटाको निधन २०१६ सालमा भएको थियो ।
मुनामदन, शुलोचना, शाकुन्तल, कुञ्जिनीजस्ता लोकप्रिय कृतिका रचनाकार महाकवि देवकोटा नेपाली साहित्य जगतमा अमर स्रष्टाका रुपमा रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्