तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कनुहुँदै

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई (आज) बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही कात्तिक १२ गते लण्डन प्रस्थान गर्नुभएको थियो ।वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहनुभएकाले उहाँ बाहेक भ्रमण टोलीमा रहनुभएका अन्य सबै जना स्वदेश फर्किँदै हुनुहुन्छ ।

स्वदेश फर्कनुअघि बुधबार प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उहाँको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको बिरुवा रोप्नुभएको थियो । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुभएको थियो । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button