तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो प्रभावित बस्तीमा कार्यवाहक प्रधानमन्त्री खाँणको स्थलगत अनुगमन

डडेलधुरा । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुराको बाढी प्रभावित बस्तीको स्थलगत अनुगमन गर्दे तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकामा दुई साता अघि आएको बाढी पहिरो १ अर्ब ५ करोड १५ लाख बराबरको क्षति भएको विवरण पेश गरिएपछि स्थलगत अनुगमनका लागि डडेलधुरा आइपुग्नु भएका गृहमन्त्री खाँणले तत्काल राहत तथा पुनर्स्थापनाका लागि पहल गरिने आश्वासन दिनु भएको हो । 

गन्यापधुरा गाउँपालिकामा बाढी पहिरोबाट दुई जनाको ज्यान गएको थियो भने करोडौँको धनजनको क्षति थियो । बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री देउवाको वडा गन्याधुरा गाउँपालिका–१ पथरोडा गाउँ पुग्नु भएका गृहमन्त्रीलाई गाउँपालिकाका अध्यक्ष नबलसिह मल्लले क्षतिको विवरण पेश गर्नु भएको छ ।

विवरण बुझ्दै गृहमन्त्री खाँणले पीडितलाई अविलम्ब राहत उपलब्ध गराइने आश्वासन दिँदै बाढी पीडितबाट ग्रस्त भएकाहरूलाई धैयता गर्न अनुरोध गर्नु भएको थियो । गन्यापधुरा गाउँपालिकाको वडा नं.१ र वडा नं.३ सकायल क्षेत्रको प्रभावित बस्तीको अवलोकन गरी राहतको प्याकेज मार्फत पीडितलाई राहत उपलब्ध गराइने बताउनु भएको छ ।  

सुदूरपश्चिमका दुई जिल्ला डडेलधुरालगायत बैतडी, बझाङलाई बाढी पहिरोको अतिसंकट जिल्ला घोषणा गरिने समेत गृहमन्त्री खाँणले बताउनुभयो । हेलिकप्टर मार्फत यहाँ पुग्नु भएका मन्त्री खाँणले देशका अधिकांश क्षेत्रमा बाढी पहिरोले क्षति पुर्‍याएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई दुई÷दुई लाखका दरले रकम उपलब्ध गराउने, घाइतेहरूको सामुदायिक अस्पतालहरूमा निःशुल्क उपचार गर्ने र अन्य राहतको प्याकेज तत्काल सुरु गरिने बताउनु भएको छ । 

आकाशमा बादल मडारिदा पहिरोले गाउँ सबै पुर्ने चिन्तामा स्थानीय छन् । वर्षा हुनुअघि वस्ति सार्नुपर्ने स्थानीयको माग छ । तर कार्तिक २ गते पहिरोले तहसनहस मच्चाए पनि सरकारबाट राहत नपाएको गुनासो स्थानीयको छ । 

हाललाई जस्तापाता र सोलारको व्यवस्था गरिदिए पनि पुग्ने स्थानीय नर बहादुर रावलले बताउनुभयो । गन्यापधुराको अवलोकन पछि मन्त्री खाँण सहितको टोली बैतडीको ढुङ्गाड र बझाङ जिल्लाका विभिन्न बस्तीका बाढी पहिरो प्रभावित स्थलको अवलोकनमा गएको छ । बाढी पहिरो लगत्तै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको संयुक्त टोलीले डडेलधुराको बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button