तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा पुनः लकडाउन सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा पुन लकडाउन गरिएको छ । 

जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सफ्ट लकडाउन सुरु गरेको हो ।

कार्तिक ३० गतेसम्म जारी रहने लकडाउनको अवधिभित्र सभा जुलुस, जात्रा भोज, भेला, देउसी भैलो लगायत भिडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा लागु गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।

असोजको तेस्रो हप्तादेखि कार्तिकको दोस्रो हप्तासम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य दरमा पुगेको जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । कार्तिक दोस्रो हप्ताबाट पुन सङ्क्रमितको सङ्ख्या बढेर ९ जना पुगेपछि सफ्ट लकडाउन गरिएको हो । 

लक्षणसहितका ९ जना सङ्क्रमितहरूको उपचार भइरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताउनुभयो । “यो सङ्ख्या लक्षण देखिएर उपचारका लागि अस्पतालमा आउनेको सङ्ख्या हो’’ अधिकृत चापागाईँले भन्नु भयो “यसले समुदायमा लक्षण नभएका थप संक्रमितहरु समेत रहेको पुष्टि गर्दछ’’ ।

नजिकिँदो चाडपर्वमा चहलपहल र भिडभाडका कारण संक्रमण दर उच्च हुन सक्ने हुँदा जनस्वास्थ्यका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै आफ्नो परिवारमा मात्र सीमित रही चाडपर्व मनाउन पनि अधिकृत चापागाईँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button