तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका बाढी प्रभावितलाई राहत सामग्री वितरण

 

कञ्चनपुर । बाढीबाट प्रभावित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले गैर खाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीसँगै नगद वितरण गरेको छ ।

वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नं १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । 

शाखाका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट र रेडक्रस उपशाखा झलारीका सभापति शेरबहादुर साउदले संयुक्त रुपमा राहत सामग्री वितरण गर्नुभयो ।

वितरण गरिएको सामग्रीमा त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा, बच्चाका कपडा, रुमाल, बाल्टी, डोरी, डिग्री किट, हाइजेनिक किट, हेल्थ किट, झुलसँगै पानी सुद्धिकरण गर्ने क्लोरिन ट्याब्लेटलगायत रहेका छन् । 

राहत सामग्री वितरण गरिएका परिवारलाई घर मर्मत गर्न, काँटा किलाको व्यवस्था गर्न र शौचालय मर्मतका लागि नगद रकम समेत बैङ्क खातामार्फत उपलब्ध गराइएको शाखाका कोषाध्यक्ष भट्टले जानकारी दिनुभएको छ ।

उहाँले बाढीबाट प्रभावित भएका २ सय ७८ परिवारको अनुसन्धान गरी त्यसबाट छनोट गरिएका १ सय ५० परिवारलाई राहत सामग्रीका लागि छनोट गरिएको बताउनुभयो । 

राहत वितरणका लागि छनोटमा परेका पुर्नवास नगरपालिकाको सिमरीका १ सय १४ परिवारलाई समेत गैर खाद्य, स्वास्थ्य, सरसफाइ सामग्रीसँगै नगद राहत वितरण गरिने उहाँले बताउनुभयो । 

सिमरीका बाढी प्रभावित परिवारलाई नगद राहत सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले एक दुई दिनभित्रै राहत सामग्री वितरण गरिने बताउनुभयो ।

राहत दिनैपर्ने अवस्थाका ४० परिवारलाई रु १३ हजार ५ सयका दरले घर मर्मतका लागि, ४० परिवारलाई रु दुई हजारका दरले किला काँटाका लागि र १० परिवारलाई शौचालय मर्मतका लागि नगद सहयोग उपलब्ध गराइएको छ । 

गैर खाद्य, स्वास्थ्य, सरसफाइ सामग्री अन्तर्गत बाढी प्रभावितलाई एनएफआरई १०० थान, डिग्री किट ३० थान, हाइजेनिक किट १सय थान र क्लोरिन ट्याब्लेट ६० हजार वितरण गरिएको छ ।

यही कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट प्रभावित तत्काल राहत उपलब्ध गराउनुपर्ने २ सय५० दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका परिवारलाई गैर खाद्य, स्वास्थ्य, सरसफाइ सामग्री समेत रेडक्रसले वितरण गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button