तपाईँ सुन्दै हुनुहुन्छः

आगामी निर्वाचनपछि काँग्रेसको एकल सरकार : सह महामन्त्री डा महत

फुङ्लिङ ।  नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने र काँग्रेसको एकल सरकार बन्ने बताउनुभएको छ । 

आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनेछ र काँग्रेसले नै सरकार निर्माण गर्नेछ ।”

अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउने उहाँको दाबी थियो । 

नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरूको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताउनुभयो । 

सह महामन्त्री डा.महतले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।” 

उहाँले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारी सँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।” 

डा.महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधान गरोस् भन्ने आफूले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।” 

उहाँले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्त्व नदिएको आरोप पनि लगाउनुभयो । 
पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उहाँले बताउनुभयो । तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button