मनाइयो कुकुर तिहार (फोटोफिचर)

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूल ढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।
कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बिहान ७ :१४ बजेसम्म मात्र त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी लागेको हो ।

आज बिहान अरुणोदयकालमा चतुर्दशी नभएको र बिहीबार बिहान अरुणोदयकालमा चतुर्दशी रहेकाले यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

चर्तुदशीको बिहान खोला, नदी, ताल, तलाउ, पोखरी गई नरक स्नान गरेर बत्ती बाली नरके बगाउने यो पर्व अरुणोदयकालअघि नै मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको उहाँले सुनाउनुभयो ।

नरक स्नान गरेमा नरकको दुःख भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ ।






तस्बिरहरु : रासस








प्रतिक्रिया राख्नुहोस्