रनवेमा बँदेल आउन थालेपछि नेपालगन्ज विमानस्थलको झाडी सफाई

नेपालगन्ज। नेपालगन्ज विमानस्थलभित्रको झाडी (बुट्यान) सफा गरिएको छ । नेपालगन्ज विमानस्थल आसपासमा रहेको झाडी हटाएर आज बिहान सफाई गरिएको हो ।
नजिकको झाडीमा रहेका बँदेल रनवेमै आएर जहाजसँग ठोक्किन थालेपछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल प्रहरीका एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका निरीक्षक नवराज शाहीको कमान्डमा आज बिहान ८ बजेतिर झाडी सफा गरिएको हो ।
झाडी सफा गर्न नेपाली सेनाका ९० जना, सशस्त्र प्रहरीका ४० र नेपाल प्रहरीका ३० जना गरी १ सय ६० सुरक्षाकर्मी परिचालन भएका थिए ।
झाडीबाट विमानस्थलको रनवेमा बँदेल आउँदा पटक–पटक जहाजमा ठोक्किएको छ । जसले गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीले संयुक्तरुपमा विमानस्थल आसपासमा सरसफाइ गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको सक्रियता र अगुवाइ सरसफाइ गरिएको हो ।
मङ्गलवार मात्रै हुम्लाको सिमकोट उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो । जहाजसँग ठोक्किएका तीन वटा बँदेल मरेको थिए । त्यसअघि बुद्ध र यति एयरका जहाजमा पनि बँदेल ठोक्किसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्