तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी सरकारले बनायो पोखरामा जहाज सञ्चालन लागी सहजीकरण समिति

कास्की ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेसँगै गण्डकी प्रदेश सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण समिति गठन गरेको छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठकले प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा विमानस्थल सञ्चालन सहजीकरण समिति गठन गरेको हो । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति गठन गरेको हो । समितिको सदस्यमा पोखरा महानगरपालिका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश अर्थ मन्त्रालयका सचिव, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेश सचिव, पोखरा उद्योग वाणिज्य सङ्घ, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख रहनु भएको छ भने सदस्यसचिवमा प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई तोकेको छ ।

सहजीकरण समितिले तोकिएको समयमा विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्व तयारीका सन्दर्भमा सरोकारवालाहरुसंग आवश्यक समन्वय, सहजीकरण तथा सहकार्य गर्ने, भौतिक निर्माणको प्रगति सम्बन्धमा समय समयमा अनुगमन गर्ने र निर्माण कार्यमा देखिएका अवरोध समाधानका लागि आवश्यक पहल गर्ने छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड बमोजिम नजिकमा रहेको ल्याण्डफिल साइटको यथाशीघ्र स्थानान्तरणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने गरी कार्यशर्तमा उल्लेख गरिएको छ । तर महानगरपालिकाले सिफारिस गरेको नयाँ ल्याण्फिल साइड भने विवादमा आएको छ ।

समितिले विमानस्थलसँग सम्बन्धित अपूरा आयोजना कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्थाका लागि नेपाल सरकारसँग अनुरोध गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने, गण्डकी प्रदेशका पर्यटन व्यवसायी, उद्यमी लगायत सम्पूर्ण निजी क्षेत्रसँग समन्वय गरी विमानस्थलको प्रयोगबाट प्रदेशको आर्थिक समृद्धि हासिल गर्न दीर्घकालीन र योजनाबद्ध रुपमा अघि बढ्न आवश्यक तयारी गर्ने कार्यशर्तमा उल्लेख गरिएको छ ।

समितिले विमानस्थलको उडानलाई प्रभावित पार्न सक्ने रिठेपानी डाँडा काट्ने कार्यलाई तीव्रता, आयोजना स्थलमा आउन सक्ने भलबाढी तथा पूर्वदक्षिणमा रहेको भुक्षय नियन्त्रणको दिगो, व्यवस्थापन, विमानस्थल क्षेत्रभित्रको सिँचाई तथा खानेपानीको सहज व्यवस्थापनका लागि आवश्यक समन्वय, भौतिक पूर्वाधारका अतिरिक्त अन्य आन्तरिक सजावट र सौन्दर्यीकरण तथा विमानस्थलमा वैज्ञानिक र पारर्दशी सुरक्षा प्रबन्धका लागि आवश्यक सहजीकरण गर्ने, विमानस्थल सञ्चालनपछि पर्यटक सङ्ख्यामा हुने बढोत्तरीलाई ध्यानमा राख्दै थप पर्यटकीय पूर्वाधारहरू निर्माणको लागि सम्बन्धित पक्षसँग समन्वय र सहजीकरण गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button