३५ लाख घरधुरीसम्म वैकल्पिक ऊर्जाको पहुँच

काठमाडौँ । नेपालमा प्रसारण लाइनको पहुँच नपुगेका ३५ लाख घरधुरीसम्म वैकल्पिक ऊर्जाको माध्यमबाट ऊर्जाको पहुँच पुगेको छ ।
नेपालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापना भएको २५ वर्षको अवधिमा विभिन्न वैकल्पिक ऊर्जाका प्रविधिको माध्यमबाट त्यस्तो ऊर्जाको पहुँच स्थापना भएको हो ।
नेपाल सरकार, नेपालका विभिन्न दातृ निकाय तथा मुलुकहरूको आर्थिक र प्राविधिक सहयोगमा नेपालका अति ग्रामीण क्षेत्रहरूमा स्थापना भएका लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, भूतापीय ऊर्जा, लगायतका ऊर्जा प्रविधिको माध्यमबाट त्यस्तो विद्युतीय पहुँच पुगेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।
२५ वर्षको अवधिमा विभिन्न कार्यक्रमहरू मार्फत लघु जलविद्युतबाट ३६ मेगावाट विद्युत् उत्पादन भई २ लाख ४७ हजार घरधुरीले विद्युतको प्रयोग गर्न पाएका छन् । त्यसै गरी यस अवधिमा ९ लाख ६१ हजार घरेलु सौर्य विद्युत् प्रणाली जडान भएको छ भने १६ लाख सुधारिएको चुलो जडान भएको छ ।
२५ वर्षको अवधिमा ११ हजार पानी घट्टको सुधार गरिएको, शहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्रीफार्मबाट निस्कने सुलि र गाई फार्मबाट निस्कने गोवर लगायतको प्रयोग गरी ३ सय ४४ ठुला सहित ४ लाख ३३ हजार वायोग्यास प्लान्ट जडान गरिएको छ ।
यस अवधिमा केन्द्रको पहलमा सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, बर्थिडं सेन्टर जस्ता संस्थाहरूमा कम्प्युटर तथा स्वास्थ्य सम्बन्धी उपकरण सञ्चालन गर्न देशभर झण्डै २ हजार ८ सय संस्थागत सौर्य ऊर्जा प्रणालीको जडान गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसूदन अधिकारीले जानकारी दिनुभयो ।
यस अवधिमा केन्द्रले २ हजार ४ सय भन्दा बढी खानेपानी र सिँचाइको लागि प्रयोग हुने पानी तान्ने सौर्य पम्पहरू जडान भएको र १ मेगावाट भन्दा बढीका सौर्य र वायु ऊर्जा मिश्रित मिनिग्रिड प्रणाली जडान भएको छ ।
नेपालमा सय किलोवाट सम्मको विद्युत् उत्पादनको लागि आवश्यक पर्ने टरवाइनको विकास भई निर्माण समेत भएको भए पनि सरकारी निकायहरूले यसको प्रयोग र प्रोत्साहन नगर्दा यस्ता टरवाइन किन्नका लागि नेपालको अर्बौँ रुपैयाँ बिदेसिएको छ ।
लघु जलविद्युत आयोजनाहरूका लागि आवश्यक पर्ने धेरै सामाग्री तथा उपकरण नेपालमा नै उत्पादन भएकोले स्वदेशमा खपत र निर्यात समेत गर्न सकिने हुँदाहुँदै पनि सार्वजनिक खरिद ऐनको वाधा र सरकारको उचित प्रोत्साहनको अभावमा नेपाली उत्पादकहरू उद्योग बन्द गर्ने अवस्थामा पुगेको नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्