तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्किएपछि फुल खेतीमा आकर्षित

तनहुँ । नेपालका अधिकांश युवाले मनग्य आम्दानीको लागि प्रमुख अवसरका रुपमा वैदेशिक रोजगारीलाई लिने गर्दछन् । केही बर्ष विदेशका बसाई पछि फर्कने युवाहरू भने मेहनत गर्न सके नेपालमै राम्रो सम्भावना देखेर लगानी सहित उद्यममा लागेको उदाहरण प्रशस्त छन् ।

विशेष गरेर कृषि सँगै पशुपालनमा युवाहरूको राम्रो आकर्षण देखिन्छ । यिनै उदाहरण मध्येका एक हुनुहुन्छ तनहुँ भिमाद नगरपालिका–८ अरौदीका गोविन्द अधिकारी । 

वैदेशिक रोजगारीमा झण्डै सात बर्ष दुःख गरेर फर्कनुभएका उहाँ अहिले व्यावसायिक फुल खेतीबाट राम्रा आम्दानी गर्न सफल हुनुभएको छ । “खाडीमा गरेको दुःखको तुलनामा त यो पाँच प्रतिशत पनि दुःख हैन ।” अधिकारीले भन्नुभयो ‘मलाई घरीघरी कस्तो महसुस हुन्छ भने, मैले त्यो विदेशमा ६/७ बर्ष शून्यता आफ्नो समय बिताएछु भन्ने लाग्छ ।’

बसाई सराई पछि खेती गर्न छाडेर बाझिएका गाउँका बारीमा उहाँले सयपत्री फुल खेती गरेका छन् । तीन रोपनी भन्दा बढी जमिनमा सयपत्री लगाएका उहाँले यो तिहारमा मात्र तीन लाख रुपैयाँको फुल बिक्री गर्ने अनुमान गर्नुभएको छ ।

गत वर्षदेखि व्यवसायीक फुल खेती गर्दा आम्दानी राम्रो हुने अनुभव सँगाल्नु भएका उहाँले अब फुल खेतीलाई विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । अरौदी र धारापानीमा फुल खेती गर्नुभएका उहाँको बारीमा कल्कते म्यारीगोल्ड प्रजातिका सयपत्री ढकमक्क फुलेका छन् । बजार समेत सहज रुपमा पाउने गरेको अधिकारीको भनाई छ । उहाँले उत्पादन गरेको फुल खैरेनीटार, दुलेगौडा, भिमाद, पोखरा र दमौलीमा खपत हुने गरेको  छ ।

अधिकारीका बारीमा सयपत्री फुल्न थालेसँगै उनले बजार खोजी गर्न सामाजिक सञ्जालको सदुपयोग गरिरहनुभएको छ । फेसबुकमा दैनिक जसो आफ्नो उत्पादनका फोटो र भिडियो राखेर जानकारी दिन थालेपछि फुलको माग बढेको उहाँको भनाई छ र  ‘फेसबुकमा मेरो पोष्ट देखेरै काठमाडौँबाट फोन आयो ।’ उहाँले भन्नुभयो‘ठुलै मिडियाबाट फोन आएको रहेछ, निकै खुशी लाग्यो ।’

आफ्नो भाइ कृषि प्राविधिक समेत हुन् । घर बिदामा आएका भाइले फुल खेतीमा सम्भावना देखाएपछि फुल खेतीमा लागेर सन्तुष्ट रहेको अधिकारीको भनाई छ । अधिकारी गरेको फुल खेती व्यवसाय मात्र होइन उहाँको मन भुलाउने माध्यम समेत बनेको छ ।

चिन्ता परेको बेलामा समेत फूलबारीमा पुगेपछि स्वर्गीय आनन्द मिल्ने बनाउने अधिकारीले गाउँका अभिभावकहरू समेत फूलबारीमा आएर आनन्द लिने गरेको जानकारी दिनुभयो । ‘गाउँका बुवाहरू के भन्नुहुन्छ भने, तैँले गरेको यो फुलको खेती एकदम राम्रो रहेछ कहिले कहिले मन आत्तिँदा खेरि यो फूलबारीमा गएर बस्दा पनि शान्ति मिल्दो रहेछ हाम्रा छोराहरूलाई पनि अब यही पेशा गर भन्छु भन्नुहुन्छ’ उहाँले सुनाउनुभयो ‘एकदम खुशी छु आम्दानी पनि भएकै छ अरूका लागी समेत उदाहरण नै भएकी झैँ पनि लाग्छ अचेल ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button