तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौं । रेडियो नेपाल र शिक्षा तथा मानव श्रोत विकास केन्द्रबीच शैक्षिक कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।
आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गरिएको सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक चुडामणी पौडेलले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार विषयगत श्रव्य सामाग्री हप्ताको ६ दिन प्रत्येक सोमबारदेखि शनिवारसम्म कक्षा ९ का विद्यार्थीका लागि बेलुकी ५ः१५ बजेदेखि ५ः४५ बजेसम्म र कक्षा दसका लागि राती ८ः१५ देखि ८ः४५ बजेसम्म प्रसारण हुनेछ ।

त्यसैगरी महत्त्वपूर्ण शिक्षाको सूचना र जानकारी समेटिने कार्यक्रम शिक्षाको चौतारी हप्ताको दुई दिन मङ्गलवार र शनिबार बेलुकी ७ बजेको समाचारपछि आधा घण्टा प्रसारण हुनेछ ।

सम्झौतापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले इन्टरनेटको पहुँचमा नरहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गर्न लागिएको रेडियो कार्यक्रमले गाउँ गाउँका लाखौँ विद्यार्थीलाई शिक्षण सिकाइमा सहयोग पुग्ने बताउनुभयो ।

मन्त्रालयका सचिव थपलियाले रेडियो कार्यक्रम उत्पादन गर्दा व्यावसायिक र प्रतिस्पर्धालाई ध्यान दिन आग्रह पनि गर्नुभयो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक चुडामणी पौडेलले दूरदराजका बालबालिकालाई शैक्षिक सिकाइमा रेडियो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालबाट विभिन्न समयमा प्रसारण हुँदै आएका रेडियो कार्यक्रमले नेपालको अनौपचारिक शिक्षामा योगदान गर्दै आएको स्मरण गर्नुभयो ।

केन्द्रका निर्देशक माधवप्रसाद दाहालले राष्ट्रिय पहुँच भएको प्रसारण माध्यम रेडियो नेपालबाट प्रसारण हुने शैक्षिक विषयगत श्रव्य सामाग्रीले कार्यक्रम दूरदराजका लाखौँ विद्यार्थीलाई सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विषय विज्ञता हासिल गरेका शिक्षक शिक्षिकाबाट उत्पादन गरेको विषयगत श्रव्य सामाग्री कार्यक्रमले गाउँ गाउँका विद्यार्थीहरूलाई रेडियो सुनेरै गुणस्तरीय शिक्षा आर्जन गर्न फलदायी हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button