तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

ग्लास्गो। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरूले सम्बोधन गर्ने क्रम आज पनि जारी छ ।

सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । मङ्गलवार राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ ।

सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछिको यो उहाँको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नुहुनेछ । यसै गरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैङ्क र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नुहुनेछ ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रवार राति संयुक्त अधिराज्य आउनुभएको थियो । अक्टोबर ३१ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृह सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button