नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको नाइन एन एएचएबी कल साइन जहाजसँग तीन वटा बँदेल ठोक्किएका हुन् । जहाजमा ठोक्किएका बँदेल टुक्राटुक्रा भएका छन् ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मङ्गलवार बिहान करिब ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेको झाले बताउनुभयो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालकदलका सदस्य सकुशल छन् । अहिले जहाज हटाएर विमानस्थल सुचारु गर्ने प्रयास भइरहेको नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्