नेपाल हृदय रोग निवारण प्रतिष्ठानद्वारा ९ बुँदे सुझाव पेस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई नेपाल हृदय रोग निवारण प्रतिष्ठानका पूर्व अध्यक्ष डा. प्रकाशराज रेग्मी सहितको टोलीले नसर्ने रोग सम्बन्धी नीति तथा कार्यक्रममा स्वास्थ्यका लागि अति हानिकारक चिल्लो पदार्थ ट्रान्सफ्याट नियन्त्रणका प्रावधानहरू समावेश गर्न ९ बुँदे सुझाव बुझाएको छ ।
विश्व स्वास्थ्य सङ्घले २०२३ सम्मा विश्व बजारमा उपलब्ध गराइने खानाहरू कारखानामा उत्पादित ट्रान्सफ्याटयुक्त तेलरहित बनाउने विस्तृत योजना सार्वजनिक गरेको र सङ्घले सार्वजनिक गरेको योजनका आधारमा प्रतिष्ठानले ९ बुँदे सुझाव पेस गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठानले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विश्वमा ट्रान्सफ्याटका कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्क घात वृद्धि हुन थालेको तथ्य सन २००१ मा सार्वजनिक भएको प्रतिष्ठानले जनाएको छ ।
ट्रान्सफ्याटयुक्त वनस्पति घिउ र तेल तथा यस्ता घिउ तेल प्रयोग गरिएका तयारी खानाको उत्पादन र उपभोगमा कम गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्घले ट्रान्सफ्याटयुक्त तेलको विकल्पमा अरू नै सुरक्षित तेल प्रयोग गराउने उद्देश्यले ६ वटा रणनीतिक कार्यक्रम अघि बढाएको र नेपाल स्वास्थ्य परिषद्ले पनि उपभोक्ताले बढी प्रयोग गर्ने खाद्य परिकारमा ट्रान्सफ्याटको मात्रा परीक्षण गर्ने उद्देश्यले १ सय ९० परिकार छनोट गरी परीक्षण गर्ने तयारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
२ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट भएका खाद्यवस्तुमा प्रतिबन्ध लगाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्