मिथिला कपको उपाधि युनाइटेड क्रिकेट क्लब पर्सालाई
राजविराज । सप्तरीमा सञ्चालित तेस्रो मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड क्रिकेट क्लब पर्साले हात पारेको छ ।
सोमवार आयोजना गरिएको फाइनल खेलमा घरेलु टिम राजविराजको छिन्नमस्ता स्पोर्टस क्लब बरही वीरपुर सप्तरीलाई ५९ रनले पराजित गर्दै युनाइटेड क्रिकेट क्लब पर्साले कप र एक लाख रुपैयाँ नगद हात पारेको हो ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गरिएको फाइनल खेलमा टस हारेर ब्याटिङ गर्ने अवसर पाएको युनाइटेड क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार गरेका थिए ।
१६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको छिन्नमस्ता स्पोर्टस क्लब बरही वीरपुर सप्तरीले १८ दशमलव ५ ओभर खेल्दै १०२ रन मात्र बनाएको थियो ।
वेस्ट बलरमा रन्जितपुर राइडर्स सप्तरीका विक्रान्त देव र वेस्ट ब्याट्सम्यानमा सोही टिमका पङ्कज देव भएको खेल आयोजक समितिले जनाएको छ ।
खेलपछि आयोजक युवा शक्ति क्लब विष्णुपुरका अध्यक्ष रवीन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका प्रमुख नीलाम्बर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले विजेता/उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्