रोल्पा नगरपालिकाले ६० जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउने

रोल्पा । “रोल्पा नगर, एकघर एक रोजगार” नीति अन्तर्गत निःशुल्क प्राविधिक अध्ययन छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूको अभिभावक, शिक्षालय र रोल्पा नगरपालिका बीच त्रिपक्षीय सम्झौता भएको छ ।
कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्राविधिक शिक्षामार्फत धेरै विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो । विगत चार वर्षदेखि निरन्तर रुपमा नगरपालिकाले दक्ष प्राविधिक उत्पादन गर्ने हेतुले पूर्ण छात्रवृत्तिमा नगरले पढाउँदै आएको बताउनुभयो ।
हरेक वर्ष १ सय जनालाई छात्रवृत्ति दिने नगरको योजना भए पनि विद्यार्थीहरूले प्रारम्भिक चरणमै नाम निकाल्न नसकेपछि कोटाहरू खेर गइरहेको नगरले बताएको छ ।

नगरपालिकाले स्टाफ नर्स, इन्जिनियर, ओभरसियर, कृषि तथा भेटेनरी सङ्कायमा पूर्ण छात्रवृत्ति दिइरहेको छ । यस वर्ष ६० जनाले प्राविधिक शिक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । यो वर्ष पशु विज्ञान, तीन वर्षे ओभरसियर, आइटी कम्प्युटर र कृषि बाली विज्ञानमा विद्यार्थीहरूले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । रोल्पा नगरपालिकाको दश वटा वडाबाट छनौट भएका उनीहरूले बाल कल्याण नमुना मावि लिबाङ र रोल्पा पोलिटेक्निक इन्स्टिच्युट कलेज मेबाङमा अध्ययन गर्नेछन् ।
रोल्पा नगरपालिकाले यस प्रकारको पूर्ण छात्रवृत्ति दिएर शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको भन्दै अभिभावकहरूले खुसी व्यक्त गरेका थिए । रोल्पा नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते अपाङ्ग, अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकताका साथ छात्रवृत्ति दिने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्