तपाईँ सुन्दै हुनुहुन्छः

परियोजनाको प्रदेश स्तरीय समीक्षा गोष्ठी सुरु

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रदेश न १ स्तरीय प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी विराटनगर आजदेखि सुरु भएको छ । 

तीन महिनामा परियोजनाले गरेको प्रगति तथा समीक्षाका विषय छलफल गर्न परियोजना कार्यान्वयन इकाई मोरङले गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीमा प्रदेश न १ का १४ जिल्लाका परियोजना कार्यान्वयन इकाई प्रमुख तथा ज्ञान केन्द्रका प्रमुखहरूको सहभागिता रहेको छ । 

गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रदेश न १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.रामानन्द तिवारीले परियोजनाले गरेको काम सन्तोषजनक भए पनि नतिजा देखिने गरी कामको तथ्याङ्क बाहिर ल्याउन परियोजनालाई आग्रह गर्नुभयो ।

उहाँले परियोजना सञ्चालनमा आएको ६ वर्ष पुगिसकेको छ भन्नुहुँदै परियोजनाका कारण कति किसान लाभान्वित भए कति किसानले रोजगारी पाए तथा उत्पादन कति बढ्यो त्यस्को यकिन तथ्याङ्क बाहिर ल्याउनुपर्ने बताउनुभयो  ।

 परियोजनाले माछा उत्पादनमा वृद्धि भएको यकिन तथ्याङ्क बाहिर ल्याउन सके भन्सार शुल्क बढाएर भए पनि बाहिरबाट आउने माछा रोक्न सकिने उहाँको भनाई थियो । 

परियोजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउन परियोजनासँग प्रदेश सरकार समन्वय र सहकार्य गरेर अघि बढ्न चाहेको उहाँको भनाई थियो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख बिनोदकुमार मण्डलले परियोजना सञ्चालनमा आएपछि प्रदेश १ मा व्यवसायीक पशुपालनतर्फ किसानको आकर्षण बढ्नुका साथै माछा फलफूल तथा कृषि उत्पादन बढेको बताउनुभयो ।  

पर्याप्त बजेट नहुँदा किसानहरूले माग गरे अनुसार मेसिनरी सामान परियोजनाले दिन नसकेको तथा परियोजनाले माग गरे अनुसार बन्दाबन्दी खेतीका लागि निवेदन समेत नपरेको उहाँको भनाई थियो । 

उहाँले माछा पोखरी खन्दा दिने अनुदानमा एकरूपता हुनुपर्ने भन्दै माछा तथा धान जोन सञ्चालनमा दोहरोपन नभएको प्रस्ट पार्नुभयो । 

उहाँले परियोजनाले प्रदेश १ मा गरेको कामको समीक्षा तथा प्रगति विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभयो । 

परियोजना व्यवस्थापन इकाई खुमलटारको वरिष्ठ कृषि अधिकृत मेघराज तिम्सिनाले परियोजनाले सञ्चालन गरेको बालीहरूको उत्पादन बढाएर बाहिरबाट आउने बस्तुहरूको आयातमा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो ।  

परियोजना सञ्चालनमा जनशक्तिको अभाव देखिएकाले त्यसलाई कुनै विधि अपनाएर जनशक्ति पूर्ति गर्ने उहाँले बताउनुभयो ।  

उहाँले मुलुकभरि परियोजनाले कसरी सञ्चालन भइरहेका छन् त्यसबारेमा जानकारी गराउनुभएको थियो । 

माछा जोन सञ्चालक समिति मोरङका संयोजक देवराज चौधरी तथा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव तथा कृषि अनुसन्धान केन्द्र तरहराका निर्देशक केशवप्रसाद श्रेष्ठले ब्लकमा सञ्चालन भएका परियोजनालाई जोनमा बिस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो । 

गोष्ठी दुई दिनसम्म चल्ने छ । एउटा सुपर जोनसहित प्रदेश १ मा ३७ वटा जोन सञ्चालनमा छन् । परियोजनाले १५ प्रकारका बालीलाई लक्षित गर्दै जोन सञ्चालनमा ल्याएको छ । 

जोन सञ्चालनमा आएपछि माछा धान अलैँची मकै तथा फलफूलको उत्पादन बढ्नुका साथै पशुपालन व्यवसायमा युवाहरूको आकर्षण बढेको पाइन्छ ।

जोन सञ्चालनमा आएपछि पोखरी खन्न तथा कृषि मेसिनरी सामानमा तथा पशुपालन तथा कृषिमा तथा सिँचाइका लागि समेत अनुदान सहयोग उपलब्ध गराउँदै आएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button