‘आर्थिकका साथै सांस्कृतिक र सामाजिक परिवर्तन जरुरी’
वीरगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समृद्ध मुलुक निर्माणका लागि आर्थिक परिवर्तनका साथै सांस्कृतिक र सामाजिक परिवर्तन जरुरी रहेको बताउनुभएको छ ।
दीपावली तथा छठ पर्वको अवसरमा जनता समाजवादी पार्टी पर्साद्वारा वीरगन्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले सङ्घीय गणतन्त्रको संस्थागत विकासका लागि पुरानो सोच र मानसिकतालाई त्याग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अधिकार र परिवर्तनको लडाई सँगसँगै मुलुकको आर्थिक विकासका लागि कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि प्रणाली लागु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसी, दलित, मुस्लिम, जनजाति, आदिवासी, उत्पीडित वर्गको उत्थानबाट मात्र समृद्ध मुलुक निर्माण हुने बताउँदै प्रदेश सरकार उत्पीडनमा रहेका समुदायको हक अधिकार स्थापित गर्न क्रियाशील रहेको बताउनुभयो ।
उहाँले पार्टीमा व्यक्ति नभई नीति र सिद्धान्त महत्त्वपूर्ण विषय भएको बताउँदै पार्टीको नीति सिद्धान्त विपरीत हिड्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिनुभयो ।
जसपा पर्साका अध्यक्ष राम नरेश यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, सङ्घीय सांसद रामबाबु यादव, हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम, लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्