तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल चोरी गर्ने ५ जना पक्राउ

कञ्चनपुर । गत शनिबार कार्तिक ७ गते राति कञ्चनपुरको बेलौरी स्थित डिडि अटोमोबाइल्सबाट ३ वटा नयाँ मोटरसाइकल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । 

मोटरसाइकल चोरी गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर बस्ने २२ वर्षीय लक्षी भनिने लक्ष्मण चुनारा, सोही ठाउँ बस्ने २० वर्षीय विवेक बम, सोही ठाउँ बस्ने १८ वर्षीय किरण नाथ, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी बस्ने १९ वर्षीय ठग्गी राना र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साह बस्ने १९ वर्षीय पारस विष्टलाई पक्राउ गरी कानुन बमोजिम कारबाही भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।

बेलौरीको बजाज मोटरसाइकल स्वरुम समेत रहेको डिडी अटोमोबाइल्सको सटरको ताला र सिसाको ढोका फोडेर कार्तिक ७ गते अन्दाजी राति ०१ः४० बजेको समयमा ३ वटा बजाज कम्पनीका पल्सर मोटरसाइकल एक समूहले चोरी लगेको थियो । 

आइतबार बिहान डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र विष्टले प्रहरीलाई खबर गरे लगत्तै अनुसन्धानका लागि प्रहरी निरीक्षक खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गरी उक्त स्वरुमबाट चोरी भएका मोटरसाइकलहरू मध्ये कार्तिक ७ गते १ मोटरसाइकल, कार्तिक ८ गते १ मोटरसाइकल र कार्तिक ११ गते १ मोटरसाइकल गरी तीन वटै मोटरसाइकल फेला पारेको थियो ।

घटनामा संलग्न ५ जनालाई पनि फरक फरक समयमा फरक फरक स्थानबाट पक्राउ गरिएको र घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । 

विगत लामो समयदेखि चोरी तथा लुटपाटका घटनामा संलग्न गिरोहले स्वरुमबाटै मोटरसाइकल चोरी गरेको छोटो समयमै संलग्न अधिकांश व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएकोमा डिडी अटोमोबाइल्सका सञ्चालक दीपेन्द्र विष्टले प्रहरीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button