नेपाल संवत् एप प्रधानमन्त्री देउवाबाट सार्वजनिक गरिने
भक्तपुर । नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट नेपाल संवत् एप र नेपाल संवतको पात्रो सार्वजनिक गरिने भएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले प्रतिष्ठानले नेपाल संवत् र शंखधर साख्वाःको बारेमा पूर्ण जानकारी समेटिएर तयार पारेको नेपाल संवत् एप र नेपाल संवतको पात्रो समेत प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गराउने कार्यक्रम राखेको बताउनुभयो ।
मानन्धरले अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोको रुपमा रहेकाको यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् समेत समेटिएर तयार पारेको एप सार्वजनिक गर्ने बताउनुभयो ।

देवनागरी लिपि र विक्रम संवत् भारतबाट आयातित रहेको भन्दै नेपालको आफ्नै संवत्को रुपमा नेपाल संवत्को पात्रोलाई प्रयोगमा ल्याउने गरी पात्रोमा विक्रम संवत् र इस्वी संवतमा समेत मिति, तिथि सबै मिल्ने गरी एप तयार भएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाबाट नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्नु हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
मानन्धरले ने.सं. ११२० अर्थात् २०५६ सालमा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै हरेक वर्ष नेपाल सम्बतको पहिलो दिन अर्थात् भाइटिकाको अघिल्लो दिन सरकार प्रमुखबाट गरिने कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।
केही वर्ष यता नेपाल संवतको पात्रो नै ठाउँ अनुसारले फरक हुने र म्ह: पूजा समेत एक दिन अगाडि र पछाडि गर्ने गरेकोमा अब सबैतिर एउटै पात्रो र एकै दिन म्ह: पूजा हुने उहाँको भनाइ छ । नेपाल संवत् नेवारको संवत् नभई सबै नेपाली जनताको साझा संवत् भएकाले यसको प्रचार आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यसैगरि ज्ञानराम श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानको बुलेटिन प्रकाशन गरी कार्यक्रममा सार्वजनिक गरिने भएको छ । यस वर्ष आउँदो १९ गते बिहान ९ बजे हुने कार्यक्रममा प्रधानमन्त्री देउवा, मन्त्रीहरू, विभिन्न दलका प्रमुख एवं प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका प्रमुखहरूको सहभागिता रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्