तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काइदिएको छ । 

सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्त्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगेको छ ।

आज बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराले जानकारी दिनुभयो । पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको र कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उहाँले बताउनुभयो । 

कार्यालयमा चौकीदार लगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । 

केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू सङ्ग्रहालयको भवन समेत भत्काएको थियो । 

झन्डै दुई साताअघि मात्रै शुक्लाफाँटा– १२ वसन्तपुरका एक दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गत वर्ष पनि शुक्लाफाँटा–१ बन्साहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button