प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।
न्यायालयमा विकृति, विसङ्गति र भ्रष्टाचार रोक्न नसकेको र न्यायालयको गरिमा कायम राख्न नसकेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै धर्ना दिएको हो ।
बारले कात्तिक १७ गतेसम्म विरोधका कार्यक्रम जारी राख्ने र सो समयसम्म पनि राजीनामा नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोधमा उत्रिएको बारले आगामी मङ्गलवार सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोध सभाको कार्यक्रम समेत राखेको छ ।
बारले विवादित प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको इजलासमा नबस्ने समेत माग गरेको छ ।
यता, प्रधानन्यायाधीश जबराले आज पनि सुनवाइका लागि १२ इजलासमा २ सय ४८ मुद्दाको पेशी तोक्नुभएको छ ।
विवादमा मुछिएपछि प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै निरन्तर छलफल र रणनीति बनाउँदै आउनुभएका सर्वोच्चका अरू न्यायाधीशहरू भने आज पनि इजलासमा बस्न इन्कार गर्दै थप रणनीति बनाउन छलफलमा जुट्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, न्यायालय सुधारमा बेवास्ता गरेको लगायतका विषयमा आलोचना गर्दै उहाँको राजीनामा मागिएको छ ।
प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चमा प्रधानन्यायाधीश बाहेक अरू सबै न्यायाधीश एक ठाउँमा देखिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्