विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जा मन्त्रीको जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातित इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित विद्युतीय सवारी र्यालीको उद्घाटन गर्नुहुँदै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झन्डै दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा ४० अर्ब खर्च भइरहेकोले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुहुँदै मन्त्री भुसालले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने धारणा राख्नुभयो ।
मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युतको खपत बढाउने क्षेत्र भएकाले यसको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन र्यालीको आयोजना गरेको जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झन्डै चारपाँच सय मेगावाट विद्युत् खेर गइरहेकोले विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्