प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उहाँले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो ।
सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीतिक आन्दोलनमार्फत परिवर्तनका लागि खेलेको भूमिकाका आधारमा सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा लाग्नुपर्छ ।”
प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षमा रहेको भन्दै उहाँले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
आफ्नो कार्यकालमा कुनै पनि सञ्चार माध्यमलाई पक्षपात नुहुने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “संविधान, सङ्घीयता र लोकतन्त्रको विपक्षमा उभिने सञ्चार माध्यमको पक्षमा म हुने छैन ।” गठबन्धनबाट मुख्यमन्त्री बनेको भन्दै उहाँले एउटा मात्रै पार्टीको भनेर हिँड्न पाउने छुट अहिलेको प्रदेश सरकारलाई नरहेको उल्लेख गर्नुभयो ।
अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भए पनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन । छुट्टयाएको बजेट ठिक ढङ्गले ठिक काममा लगाउँला ।”
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासङ्घ प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेस माथि नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गर्नुभयो ।
प्रदेश र जिल्ला शाखालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको हितमा पत्रकार महासङ्घ सधैँ रहने उल्लेख गर्नुभयो । पत्रकार महासङ्घ सुद्धिकरणका लागि तयार रहेको भन्दै उहाँले जिल्ला अध्यक्षलाई यस काममा लाग्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, केन्द्रिय सचिव सृजना अर्याल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासङ्घ वाग्मती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका प्रदेश सह–संयोजक शिशिर सिंखडा, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको सो सम्मेलनमा प्रदेशका १० जिल्लाका महासङ्घका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता छ ।
भेलाले नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको तीन वर्षे कार्य योजना बनाउने छ । रासस








प्रतिक्रिया राख्नुहोस्