तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालका लागि भारत एक असल मित्र’

बीरगंज । प्रदेश २ का खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्माले नेपालको भारतसँग रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र बहु आयामिक सम्बन्ध भएको हुँदा भारतको स्थान कुनै पनि मुलुकले लिन नसक्ने दाबी गर्नुभयो । 

नेपाल भारत विश्व मैत्री सङ्घ पर्साको आयोजनामा आज वीरगंजमा सम्पन्न दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि एक नम्बरको असल मित्र भनेको भारत नै भएको बताउनुभयो । 

उहाँले भारतले जस्तो सहयोग अरू कुनै देशले नगरेको दाबी गर्दै भारत पछि मात्र अन्य मुलुकहरू दोस्रो, तेस्रो सहयोगी र मित्र हुनसक्ने कुरामा जोड दिनुभयो । 

मन्त्री शर्माले वीरगञ्जलाई लोडसेडिङ मुक्त गर्न मुजफ्फरपुरबाट विधुत ल्याइएको र अहिलेसम्म त्यही प्रयोगमा रहेको उल्लेख गर्दै बीरगंजसँग जोडिएको भारतीय सहर रक्सौलमा रहेको विमानस्थल सञ्चालन ल्याई भारतले आन्तरिक उडान सुरु गर्नु पर्ने कुरामा जोड दिनुभयो । 

चाडबाडको बेला अहिले वीरगंज लगायत तराईका जिल्लाहरूमा पटका पड्कने क्रम सुरु भइसकेको हुँदा यसतर्फ प्रहरी प्रशासन चनाखो भई पटकाको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका शैलेन्द्र कुमारले नेपाल र भारतको सम्बन्ध विश्वका लागि उदाहरणीय भएको बताउनुभयो । 

कोरोना कालमा दुवै देशका नागरिकले कठिन परिस्थितिको सामना गर्नुपरेको बताउँदै सीमा क्षेत्रका दुई देशका नागरिकहरूको सम्बन्ध कसैले चाहँदैमा बिग्रिन नसक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button