तपाईँ सुन्दै हुनुहुन्छः

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै

तम्घास। काली गण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।

पहिरो र बिचमा ठुला ढुङ्गा अड्किएका कारण नौ दिनदेखि यातायातका साधनको आवतजावत बन्द रहेको थियो । डोजरले वा अन्य उपकरणले मात्रै पहिरो हटाउन नसकिने भएपछि सेनाले शुक्रवारबाट बम विस्फोट गरेर ढुङ्गा फुटाउने काम गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

काली गण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाले बममार्फत ढुङ्गा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको उहाँको भनाइ छ । त्यो सडकबाट गुल्मीसहित बागलुङका दैनिक एक डेढ सय बढी सवारी साधन आवतजावत गर्छन् । पहिरोले सडक अवरुद्ध भएपछि बागलुङ बुर्तिबाङसम्मका ठुला गाडी तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button