तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री गहतराजद्वारा राष्ट्रिय युवा परिषद्को अनुगमन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद् कार्यालयको अनुगमन गर्नुभएको छ । 

राष्ट्रिय युवा परिषद्को अध्यक्ष समेत रहनुभएका मन्त्री गहतराजले आज भक्तपुर ठिमीस्थित परिषद्को कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । 

अनुगमनका क्रममा युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना सहितका कर्मचारी तथा युवा परिषद्का सदस्यहरूले मन्त्री गहतराजलाई फुल गुच्छाले सम्मान गर्नुभएको थियो । 

मन्त्री गहतराजले कार्यालय भवन तथा युवा परिषद्अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गर्नुभयो । 

निरीक्षणपछि कर्मचारी तथा पदाधिकारीहरूलाई निर्देशन दिनुहुँदै मन्त्री गहतराजले युवा परिषद्लाई युवाहरूको केन्द्रका रुपमा स्थापित गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । 

४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अङ्गका रुपमा रहेको युवा परिषद्ले युवाहरूको मनोविज्ञान बुझेर योजनाहरू तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले भन्नुभयो, “भविष्य बोकेका युवाहरूको मनोविज्ञान तथा भावना बुझेर दीर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।”

पछिल्लो समय ठुलो मात्रामा युवाहरू बिदेशिने गरेको तर्फ ईगित गर्दै मन्त्री अ गहतराजले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यक रहेको बताउनुभयो । 

“युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” उहाँले भन्नुभयो, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाहरूबाट उत्प्रेरित हुने गरी अन्य युवाहरूलाई समेत स्वदेशमै रोक्ने खालका योजनाहरू अगाडी बढाउनुहोस् ।”

साधन स्रोतका कारण कुनै पनि योजना सञ्चालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाउँदै मन्त्री गहतराजले सामान्य कर्मचारीभन्दा माथि उठेर देशभरका युवाहरूलाई सपना देखाउने  व्यक्तिका रुपमा आफूलाई उभ्याउन कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ । 

अहिलेकै अवस्थामा युवाहरू बिदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरूको खडेरी पर्ने अवस्था आउने खतरा बढ्दै गएको भन्दै मन्त्री गहतराजले चिन्ता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा ऊर्जावान् व्यक्ति पाएको भन्दै अहिलेसम्म विभेदका कारणले रोकिएका र हुन नसकेका महत्त्वपूर्ण नीतिगत कुराहरूलाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताउनुभयो । 

कार्यक्रममा युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानाले कार्यालयको प्रगति विवरण पेस गर्नुभएको थियो । 

पछिल्ला वर्षहरूमा परिषद्लाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुङ्गानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button