तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा १३ कम्पनीलाई अनुदान वितरण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले ऊर्जा बचत गर्ने १३ कम्पनीलाई साँढे छ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । 

जर्मन सरकारको केएफडब्लु बैङ्कमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ऊर्जा बचत कार्यक्रम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत शुक्रवार अनुदान हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ । 

यसअनुसार बैङ्कले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक/एक करोड रुपैयाँ, नेपाल वायर्स एन्ड केवललाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टिल इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङले ४४ लाख १९ हजार रुपैयाँ सहित अन्य कम्पनीहरूले अनुदान रकम प्राप्त गरेका छन् ।  

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो । 

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हालसम्म ३० वटाभन्दा बढी उद्योगहरूलाई १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button