नियम विपरीत सञ्चालन गरेको भन्दै औषधी पसल बन्द
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरेको छ । नगर उपप्रमुख वीणा बास्तोलाको नेतृत्वको टोलीले नगरपालिकाको वडा नम्बर ५,६, ७ र २ क्षेत्रमा बजार अनुगमन गरेको हो ।
त्यस क्रममा केही औषधी पसलमा फार्मेसीको प्रमाण पत्र पाएको एक व्यक्ति हुने तर बिक्री गर्न अरू नै बस्ने गरेको पाइएको छ । नगरपालिकाकी अधिकृत निला घिमिरेले चाँगुनारायण ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको खरिपाटी फार्मेसीमा सम्बन्धित व्यक्ति मात्रै बसेर औषधी बिक्री गर्न अनुगमन टोली निर्देशन दिएको बताउनुभयो ।

प्रमाणपत्र लिएको व्यक्ति उपस्थित हुन नसक्ने भए फार्मेसी बन्द गर्नुपर्ने भन्दै फार्मेसी बन्द गराएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री बिक्री गर्ने गरेको पनि फेला परेको छ ।
खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरहरूले फोहोर मासु बिक्री गर्ने गरेको फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरू फेला परेको बजार अनुगमन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
अनुगमन टोली समक्ष केही पसल सञ्चालकले घरभेटीले गर्दा पसल दर्ता गर्न नपाएको बताएका छन् । घर बहाल करको कारणले दुवाकोटका धेरै घरधनीहरूले पसल सञ्चालकसँग घर भाडा सम्झौता नगर्दा वडा कार्यालय र कर कार्यालयमा दर्ता गर्न नपाएको उप प्रमुख बाँस्तोलासंंग गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रशासकीय अधिकृत लुमा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी सहित चाँगुनारायण नगरपालिकाले बजार अनुगमन गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्