काभ्रेमै बन्यो मुक्तिनाथ मन्दिर, भक्तजनको घुइँचो

काभ्रेपलान्चोक । काभ्रेमा हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको नयाँ एक धार्मिक गन्तव्यको स्थापना भएको छ ।
पनौती नगरपालिका वडा नं. ५ बाँसबारीमा मुक्तिनाथ मन्दिरको निर्माण गरिएको छ ।
उक्त नवनिर्मित मन्दिर गत असोज २५ गतेबाट भक्तजनहरूको लागि मन्दिर परिसर खुल्ला गरिएको थियो ।
मुक्तिनाथ पीठाधीश्वरको स्वामी कमलनयनाचार्यले हिन्दु विधि अनुसार उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो ।
मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरकै जस्तो पूजा विधि, विधान गर्ने गरी कमलनयनाचार्यकै अनुमतिमा मन्दिर स्थापना गरेको निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा नै बसेर पूजालगायत विधि सिकेर आउनुभएका आचार्य उत्तीर्ण पुजारीले दैनिक पूजा अर्चना, भोग, आदि गर्दै आउनुभएको छ ।
उहाँका अनुसार मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर पुग्न नसक्ने वृद्धवृद्धा, अशक्त र आफ्ना काम र रोजगारी सँगै समय मिलाएर मन्दिरको दर्शन गर्न चाहने भक्तजनहरूलाई लक्षित गर्दै मुक्तिनाथ बाबाकै सल्लाहमा मन्दिर स्थापना गरिएको थापाले बताउनुभयो ।
गत २०७४ असोज ४ मा शिलान्यास भएको मन्दिर ४ वर्षमा निर्माण सम्पन्न भएको हो ।
मन्दिर निर्माण गर्न सोही स्थानमा २०७३ सालमा लगाएको महायज्ञबाट उठेको ५८ लाख, बागमती प्रदेश सरकार र पनौती नगरपालिकाबाट २५/२५ लाखसहित अन्य दाताबाट समेत उठेको १ करोड ६७ लाखमध्ये १ करोड ५९ लाख खर्च भएको र बाँकी रकम अक्षय कोषमा जम्मा गरिएको थापाले बताउनुभयो ।
उक्त मन्दिरमा काभ्रे लगायतका विभिन्न जिल्लाहरूबाट भक्तजन दर्शनको लागि आउने गरेको मन्दिरका पुजारी श्री श्री श्री निवास रामनदासले बताउनुभयो ।
यहाँको मन्दिरमा मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरकै जस्तो पूजा विधि, विधान गरी पूजाआजा गर्दै आएको उहाँले बताउनुभयो ।
हरेक दिन विभिन्न जिल्लाबाट करिब ४ सयभन्दा बढी भक्तजनहरू पूजाआजा तथा दर्शन गर्न आउने गरेको पुजारीले बताउनुभयो ।
मन्दिर परिसरभित्र १ सय ८ धारा, २ वटा पाटी, पुजारी घर, शौचालय, महिला र पुरुषका लागि कपडा फेर्ने अलग–अलग कक्ष, पर्खाल, पोखरी लगायत संरचना निर्माण गरिएको छ ।
अक्षय कोषको व्याजबाट नियमित पूजा, आरती, पुजारी, सरसफाइ कर्मचारीको व्यवस्थापन गर्ने तयारी गरेको समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्