तपाईँ सुन्दै हुनुहुन्छः

दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु

भद्रपुर, झापा । झापामा आज बिहान दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेका गौरादह नगरपालिका–४ निवासी ४० वर्षीय भानु खत्री अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गौरादह ४ स्थित धरधरे जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी मे९प २७०३ नम्बर मोटरसाइकल चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको अवस्था गम्भीर रहेको छ । 

घाइतेहरूको नाम थर र वतन खुल्न नसकेको र उपचारको लागि न्युरो अस्पताल विराटनगर  पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button