राहत नपाएको भन्दै बाढीपीडित आन्दोलित

भद्रपुर, झापा । झापाको झापा गाउँपालिका वडा १ र २ का बाढीपीडित राहत नपाएको भन्दै आन्दोलित भएका छन् ।
सयौँको सङ्ख्यामा शुक्रवार बिहानदेखि वडा कार्यालयमा आएका मानिसले दिनभरि भोक भोकै बसेर वडाध्यक्ष सामु गुनासो पोखिरहेका थिए । उनीहरूले वास्तविक बाढीपीडितले राहत नपाएर अरूले नै राहत पाएको गुनासो गरेका छन् ।
नामावली सार्वजनिक नगरी आ–आफ्नो मान्छेलाई मात्र राहत वितरण गरेकोले आफूहरू आन्दोलित बन्नुपरेको आफूलाई बाढीपीडित बताउने वडा नं १ का लक्ष्मण गणेशले गुनासो पोख्नुभयो ।
असोज अन्तिम सातादेखि कात्तिकको पहिलो सातामा हावाहुरीसँगै आएको बेमौसमी वर्षाले सो गाउँपालिकाको दुई वटा वडामा धेरै घर डुबानमा पर्नुका साथै सयौँ मानिस विस्थापित भएका थिए ।
वर्षाले झापामा ठूलो क्षेत्रफलको धान बालीमा नोक्सानी पुगेको थियो ।
बेमौसमी वर्षाले क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय संस्था विश्व खाद्य कार्यक्रमले झापा जिल्लाको माई नदीको छेउछाउको तटीय क्षेत्रमा बसोबास गर्ने वा मौसम पूर्वानुमानमा आधारित अग्रिम विपत् कार्यक्रमअन्तर्गत बसोबास गर्ने मानिसहरूको लागि राहत वितरण गरेको थियो ।
जसअन्तर्गत गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकाका १ हजार ६ सय ६५ घरधुरीलाई १३ हजार ५ सय रुपैयाँका दरले राहत उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्