तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना र स्पेनको एक्त्रामादुरा प्रदेशसभाका सभामुखबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेको स्पेनको एक्त्रामादुरा प्रदेशसभाका सभामुख नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गर्नुभएको हो।


भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताउनुभयो।

नेपाल र स्पेन सरकारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षपछि स्पेनमा नेपालको दूतावास खुलेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “नेपालमा पनि स्पेनको दूतावास स्थापना हुन सकेमा दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म बिस्तार गर्न सकिन्छ। भ्रमणहरू आदान”प्रदानमा पनि सहज हुन्छ। विद्यार्थी, व्यवसायी तथा पर्यटकलगायत सबैलाई सहज हुने भएकाले यो जरुरी छ।”

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले बागमती प्रदेशसभाको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउण्डेशनको कार्यक्रमका कारण पनि आफूहरू बीचको भेटघाट सम्भव भएको भन्दै प्रदेशसभा सभामुख र फाउण्डेशनलाई धन्यवाद दिनुभयो।

त्यसैगरी लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेड स्टोनको बुद्ध मूर्ति स्थापना कार्यक्रममा भ्रमण टोली सहभागी हुने कार्यक्रम रहेको छ। सो मूर्ति स्थापना कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार हुने कार्यक्रम रहेको छ।

गत चैतमा स्पेनका सभामुखको निमन्त्रणामा भएको आफ्नो भ्रमणको स्मरण गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले आफ्ना समकक्षीका रुपमा सभामुखको नेपाल भ्रमण पनि छिट्टै हुने विश्वास व्यक्त गर्नुभयो।

फाउण्डेशनको अग्रसरतामा स्पेनको क्याथेरेस नगरपालिकामा बन्न लागेको लुम्बिनी प्रोजेक्टले बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वभर फैल्याउन मद्दत पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसद्को सम्बन्ध सुमधुर रहेको बताउनुभयो। उहाँले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिनुभयो।

फाउण्डेशनको कार्यक्रमका कारणले आफूसहितको टोली नेपाल भ्रमण आएको बताउँदै उहाँले नेपालका राष्ट्रपति प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन उत्सुक रहेको बताउनुभयो।

भेटमा अध्यक्ष तिमिल्सिना, बागमती प्रदेशका सभामुख श्रेष्ठ, सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँललगायत सहभागी हुनुहुन्थ्यो।

भ्रमण टोलीबाट सभामुखसहित एक्त्रामादुरा प्रदेश सभा सदस्य, मेयरलगायत हुनुहुन्थ्यो। यता लुम्बिनी गार्डेन फाउण्डेशनको अध्यक्ष जोशे म्यानुयल, उपाध्यक्ष गोविन्द सुवेदी तथा महासचिव एकराज गिरीसमेत भेटमा सहभागी हुनुहुन्थ्यो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button