पुष्प खेतीमा आत्मनिर्भर बन्दै पोखरा

कास्की । तिहारमा आवश्यक फुलको लागि पोखरा आत्मनिर्भर बन्दै गएको छ । हाल पोखरामा करिब ३५ जना व्यवसायीहरूले फूल खेती गर्दै आएका छन् । यो खेतीबाट हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) कास्कीले जनाएको छ ।
हाल पोखरामा रहेका नर्सरीहरूको उत्पादनले पोखराको माग सम्बोधन गर्ने र विगत वर्ष जस्तो भारत तथा अन्य जिल्लाबाट फुलको आपूर्ति गर्न नपर्ने पुष्प व्यवसायी डिल बहादुर गुरुङले बताउनु भयो ।
तिहारसँगै पोखराका बजारमा यतिखेर फूलको व्यापार बढ्दै गएको छ । बजारमा विगत लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले सजाएर बिक्रीका लागि मालाहरू राख्न थालेका छन् । पोखरामा पुष्प व्यवसायीले तिहारलाई लक्षित गरी तयार पारेका फूल पनि यस समयमा अत्यधिक खपत हुने गरेको गुरुङले बताउनु भयो ।
घर सजावट पूजा लगायतको प्रयोजनमा तिहारमा अत्याधीक रुपमा फुलको माग हुने गरेको राम नर्सरीका सञ्चालक राम प्रसाद सुवेदीले बताउनुभयो । मासवारमा विगत दुई दशक देखि नर्सरी व्यवसाय गर्दे आउनु भएका सुवेदीले भन्नुभयो “ तिहार पछि पनि फूलको व्यापार हुने गरेको छ तर, राज्यले पुष्प व्यवसायीको समस्या सम्बोधन नगरेको गुनासो रहेको छ । यस वर्ष तिहारको लागी अन्य ठाउँबाट फुलहरू मगाउन नपर्ने कास्की पुष्प व्यवसायीहरूको अनुमान रहेको छ ।
“बजारमा मालाको व्यापार सुरु भएको छ कतिले अग्रिम बुकिङ समेत गर्न थालेका छन् लक्ष्मीपूजा र भाइटिकामा अझै धेरै माला बिक्री हुन्छ ।” बजारमा सयपत्री रु ७० देखि ८० र मखमली लगभग रु ५० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनु भयो । विगत वर्षमा भारत तथा अन्य स्थानबाट आएका फुलका मालाहरू प्रयोग गर्दा धेरै गुनासो आउने गरेको थियो यो वर्ष हामी हामी आफै उत्पादनमा आत्म निर्भर बनेका छौ उपभोक्तालाई गुणस्तरीय मालाको व्यवस्था गर्ने छौ । भारतबाट आएका फुलहरू केही सस्तो भए पनि साना र औषधी प्रयोग गरेको गुनासो आउने गरेको थियो यो वर्ष देखि यस्तो गुनासो आउने छैन फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) कास्कीले बताएको छ ।
अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल एकसाता अघि नै फुलिसकेका कारण केही कृषक समस्यामा परेका छन् । फूल लगाउन समय तालिकामा ध्यान नदिँदा कृषकलाई समस्या परेको हो । पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, भद्रकाली विरौटा बाटुले चौरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग एक करोड मूल्य बराबर फूलको कारोबार हुने फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।
पछिल्लो समय तिहारका लागि गाउँ गाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको छ । कास्कीमा व्यावसायिक फूल खेतीको बढ्दो आकर्षण सँगै २०६२ मा फ्लोरीकल्चर एशोसिएसन गठन गरी यसको दिगो विकासका लागि पहल थालिएको संस्थापक अध्यक्ष वसन्त बानियाँले जानकारी दिनुभयो ।
पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ । यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यतः एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायीहरू बताउनु हुन्छ । व्यवसायीका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० रुपैयाँदेखि १५० सम्म पर्ने गर्दछ । पोखरामा करिब ३०० प्रजातिका फुलको व्यवसायीक खेती हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्