भूमिहीन, सुकुम्वासी र नागरिकता सम्बन्धी समस्याको समाधान हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भूमिहीन सुकुम्वासीको नागरिकता सम्बन्धी समस्यालाई वर्तमान सरकारले हल गर्ने गरी काम अगाडि बढाएको बताउनु भएको छ ।
चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित बाँदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बाँदरझुलाका नागरिकहरूलाई नागरिकता वितरण गरिनु यसको सुरुवात भएको बताउनुभयो । ‘मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई भनिसकेको छु, ‘ठोस योजना बनाएर लालपुर्जा वितरण गर्नुस्’ उहाँले भन्नुभयो ।
सो अवसरमा दाहालले माडीको विकासमा आफूले निर्वाचनका क्रममा गरेका वाचा र प्रतिबद्धता अनुसार काम अगाडी बढाइरहेको बताउनु भयो ।

‘हामीले निर्वाचनका क्रममा गरेका बाचालाई बिर्सेका छैनौ सोही वाचाअनुसार काम धमाधम अगाडि बढिरहेको छ ।’ उहाँले भन्नुभयो, रिउ कोरिडोरमा तटबन्धन, दर्जन बढी नदीहरूमा पक्की पुल, र सडक कालोपत्रेको काम धमाधम भइरहेको छ, दाहालले भन्नुभयो, सुकुम्वासी बस्ती हनुमान झुलामा बिजुली बत्ती विस्तारका लागि काम भइरहेको छ, अब छिट्टै यस क्षेत्रमा बिजुली बल्छ ।’
अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले पूर्व प्रधानमन्त्री ओलीले प्रपोगान्डाको लागि माडीमा राम मन्दिरको घोषणा गरेको बताउँदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताउनुभयो ।
स्थानीय फूलमाया‘ प्रजाले ७२ वर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातबाट नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिनुभयो । अर्की ७४ वर्षीय कृष्णमाया‘ घलानले नागरिकता हातमा पाउँदा दङ्ग पर्दै अब आफूले बृद्धभत्ता पाउनेमा खुसी व्यक्त गर्नुभयो । ७ सन्तानकी हजुरआमाका सातै सन्तानसँग नागरिकता छैन ।

यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाउँदै छन् । बाँदरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ । यस वडामा अधिकांशको नागरिकता छैन भने यहाँका वासिन्दाहरूसंग जग्गा धनी प्रमाण पुर्जा छैन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सीमावर्ती यस बस्तीमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र बस्ती विकासको काम हुन सकेको छैन ।
नागरिकता वितरण तथा सहजीकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता विहीन स्थानीयलाई घर आगमनै नागरिकता वितरण गर्ने उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनु भयो ।
माडी नगरपालिका वडा न ९ को बादरझुलामा माडी नगरपालिका र जिल्ला प्रशासन चितवनको संयुक्त आयोजनामा नागरिकता वितरण कार्यक्रम भएको छ । ७३ वर्षीया हरिमाया‘ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणी पौडेल, लगायतले बाँदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गर्नुभएको थियो ।
सो अवसरमा ७३ वर्षीय हरिमाया प्रजा, ७२ वर्षीय फूलमाया प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्