चितवनमा तीन महिनामा ७ सय ८३ वटा उद्योग दर्ता

चितवन । चितवनमा तीन महिनाको अवधिमा सबै प्रकारका उद्योग गरी ७ सय ८३ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । सो अवधिमा ५सय ८८ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए ।
यस्तै सो अवधिमा १ सय ३३ वटा सेवामूलक उद्योग , उत्पादनमूलक उद्योग ८८ वटा र पर्यटन मूलक उद्योग ८ वटा दर्ता भएको तथ्याङ्क छ ।
ऊर्जामूलक उद्योग, खनिज जन्य उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधि उद्योग भने दर्ता भएका छैनन् ।
कार्यालयका प्रमुख यादवनाथ आचार्यले चितवन कृषि तथा पशुपालन उद्योग गर्न उर्वर र उपयुक्त भूमि तथा अनुदानको व्यवस्था भएकोले कृषि तथा वनजन्य उद्योग अन्तर्गत उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।
“चितवन आफैमा कृषिको हब र उर्वर भूमि हा”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले बढी प्राथमिकता पनि दिएको छ ।”
महिला उद्यमी झन्डै दोब्बर तीन महिनाको अवधिमा पुरुष उद्यमीभन्दा महिला उद्यमीको सङ्ख्या झन्डै दोब्बर भएको पाइएको छ ।
तथ्याङ्क अनुसार सो अवधिमा ५ सय ५३ वटा महिला उद्यम दर्ता भएको छ भने २ सय ९२ वटा पुरुषको नाममा उद्योग दर्ता भएको छ ।
यसमध्ये उत्पादनमूलक उद्योगमा ६३ महिला, ५६ जना पुरुष उद्यमी ,कृषि तथा वनजन्य उद्योगमा ३ सय ८३ महिला , १ सय ९३ जना पुरुष उद्यमी, सेवामूलक उद्योगमा १सय १ जना महिला उद्यमी, पुरुष उद्यमीको सङ्ख्या ४० र पर्यटनमूलक उद्योगमा ६ जना महिला उद्यमी र ३ जना पुरुष उद्यमी रहेका छन् ।
कार्यालयका प्रमुख आचार्यले पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट ब्याजदरमा थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढी भएको बताउनुभयो ।
“पुरुषलाई भन्दा महिलालाई उद्योग दर्ता गर्न सहज पनि छ । सहुलियत पनि छ । उहाँले भन्नुभयो, दर्ता भएका उद्योगहरू मध्ये महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरू बढी दर्ता छन् ।”
अधिकांश महिलाहरूले आफ्नो नाममा उद्योग दर्ता गर्ने, कृषि तथा वनजन्य उद्योगमा पनि महिलाहरू नै बढी भएकोले पनि महिलाको नाममा उद्योगहरूको सङ्ख्या दर्ता बढी भएको उहाँको भनाई छ ।
कार्यालयले यी सबै प्रकारका उद्योग दर्ता बाट १ करोड ६७ हजार रुपैंया राजश्व सङ्कलन गरेको जानकारी दिएको छ । उद्योगमा यी रोजगारी गर्नेहरूमा पनि महिला नै रहेको प्रमुख यादवको भनाई छ ।
“महिलाले दर्ता गरेको उद्योगमा महिलालाई नै प्राथमिकता र अवसर पाउंँछन । स्वतः रोजगारी पनि बढी महिलाको नै हुन्छ ।” उहाँले भन्नुभयो ।
कार्यालयमा उद्योगमा हाल ५ लाखदेखि पाँच करोड पूंँजी भएका उद्योगहरू दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पूंँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ ।
कार्यालयमा हाल पाँच लाखदेखि २० लाख पूंँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैंया, २० लाख ५० लाख पूंँजी भएका उद्योग दर्ताका लागि २० हजार, ५० लाखदेखि १ करोडसम्म ३० हजार र १ करोडभन्दा माथि पाँच करोड सम्मका उद्योगका लागि ५० हजार रुपैंया दर्ता शुल्क लाग्ने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्