प्रतिनिधिसभा बैठक : राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८” पेस भएको छ ।
प्रमुख प्रतिपक्षी दलको अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले “राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले राजीनामा दिएपछि सोको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नुभएको विषयमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
यस्तै, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम विविध कारणले लगातार बैठकमा १० वा सोभन्दा बढी अनुपस्थित हुने सांसदहरूको अनुपस्थितिको सूचना बैठकले स्वीकृत गरेको छ ।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा नियमित अवरोध अन्त्य गरी बैठक सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरुलाई आग्रह गर्नुभयो ।
सभामुख सापकोटाले जलवायु परिवर्तनको असर, देशमा हालैको अविरल वर्षबाट भएको जनधनको क्षति, प्रभावितहरूलाई राहत, उद्धार तथा पुनर्स्थापना र जनजीविकाका विषयहरू सदनमा छलफल गरी समस्या समाधान गर्नु÷गराउनु सदन एवं सांसदहरूको प्रमुख जिम्मेवारी भएको तर्फ सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख सापकोटाले सभाको नियमित अवरोधले सभाले सम्पादन गर्नुपर्ने महत्त्वपूर्ण कार्यहरू प्रभावित हुन पुगेको र यस्ता अवरोधहरूमा नियमितता देखिनुले राम्रो सन्देश प्रवाह नगर्ने भन्दै यसप्रति संवेदनशील र सचेत हुन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह समेत गर्नुभएको थियो ।
सभामुख सापकोटाले पटक–पटक आग्रह गर्दा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोष्टम अगाडी उभिएर निरन्तर नाराबाजी गर्दै संसद् अवरुद्ध गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही कार्तिक २९ गते सोमबार दिउसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्