रेडक्रसद्वारा बाढी तथा पहिरो पीडितलाई राहत सामाग्री वितरण

विराटनगर । मोरङ जिल्लाका बाढी तथा पहिरो पीडितहरूलाई नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले राहत सामाग्री वितरण गरेको छ ।
गत हप्ता आएको बाढी र पहिरोका कारण पूर्ण तथा आंशिक क्षति भएका दुई सयभन्दा बढी परिवारलाई नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले राहत वितरण गरेको हो ।
रतुवामाई, उर्लाबारी तथा सुनवर्सी नगरपालिका साथै मिक्लाजुङ गाउँपालिकाका बाढी पीडितहरूलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुबोधकुमार सिंहले बताउनुभयो ।
पूर्ण क्षति भएका प्रत्येक परिवारलाई एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट भाँडाकुँडा, तीन मिटर सुटिङ कपडा, चार मिटर सटिङ कपडा, दुई मिटर पपलिङ कपडा तथा सात मिटर प्रिन्टेड कपडा र पुरुष धोती तथा साडी तथा डोरी लगायतका राहत सामाग्री वितरण गरिएको छ ।

त्यसैगरी, आंशिक क्षति भएका परिवारलाई एक थान त्रिपाल, एक थान म्याटे«स, एक थान झुल, एक थान हाइजिन किट तथा १० मिटर डोरी वितरण गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार करिब साढे १४ लाख बराबरको राहत सामाग्री वितरण गरिएको सभापति सिंहले बताउनुभयो ।
स्थानीय पालिका, रेडक्रस, नेपाल प्रहरीले तथा स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रको अनुगमन तथा सर्वेक्षण गरेर पीडित परिवारको नाम सङ्कलन गरेर राहत वितरण गरेको हो ।
रेडक्रसका अध्यक्ष सिंह तथा शाखाका महामन्त्री सुगदेव मण्डलले पीडितहरूलाई राहत सामाग्री वितरण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्