तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रकुने तालमा डुङ्गा सरर……

देउखुरी । कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीय स्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । 

घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ ।

तुलसीपुर–६ की सम्झना आचार्य बुधवार साथीसँग बाह्रकुने तालमा घुम्न आउनुभयो । 

“पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ, साथीहरूसँग सेल्फी लिँदै जलविहार गर्दा मज्जा आयो”, उहाँले भन्नुभयो, “गाउँका अरू साथीलाई पनि बाह्रकुने जानु भन्छु । मन्दिर पुग्ने जोकोहीलाई डुङ्गाले झनै आकर्षक बनाएको छ ।”

घोराही–१४ का  विशाल पौडेल वनभोजका लागि साथीसँग बाह्रकुने पुग्नुभएको थियो । “वनभोजका लागि उपयुक्त स्थान छ । आधुनिक डुङ्गा देख्दा घुमौघुमौ लाग्यो, डुङ्गामा सरर ताल परिक्रमा गर्दा छुट्टै आनन्द आयो”, उहाँले भन्नुभयो ।

दाङसहित सल्यान, प्युठान, रोल्पा, रुकुम र छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा भक्तजन आउने बाह्रकुने धार्मिक समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिनुभयो । 

“धार्मिक र पर्यटकीय हिसाबमा मानिसको सहभागिता हुन्छ,  माघे सङ्क्रान्तिका दिनमा भक्तजनको ठूलो मेला लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “पुस महिनादेखि नै भक्तजनको उल्लेख्य सहभागिता हुने गर्दछ । दसैँ, तिहारपछि वनभोज खानेहरूको भिडभाड नै हुने गर्छ ।” 

पछिल्लो समय विद्यार्थी, युवा र ज्येष्ठ नागरिकको बाह्रकुने ताल रोजाइको क्षेत्र बनेको छ ।

घोराही बजारबाट उत्तर–पश्चिम तीन किलोमिटरको दूरीमा रहेको दह पाँच हेक्टर जमिन छ । बाह्र वटा कुना रहेको सो ताल प्राकृतिक रूपमा निर्मित जानकार बताउँछन् ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ताल लुम्बिनी प्रदेशको नमुना तालमा पर्दछ । बजारबाट अटोरिक्सामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ ।

सोे तालमा काठका पुराना दुई वटा डुङ्गा थिए । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने बाध्यता थियो । बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक चार वटा डुङ्गा सञ्चालनमा ल्याएको छ । एउटा डुङ्गामा चार जना बसेर शयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिनुभयो ।

मन्दिर व्यवस्थापन समितिसँग पाँचवर्षे सम्झौता गरी तालमा आधुनिक खालको फाइवरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ । प्रालिका अध्यक्ष जगत् दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याएको बताउनुभयो ।

स्थानीय चार युवाले रु १२ लाख लगानी गरी डुङ्गा सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । डुङ्गामा सयर गर्दा लगाउने लाइफ ज्याकेट र २० जनाको दुर्घटना बिमासमेत गरिएको प्रालिले जनाएको छ । 

डुङ्गामा बसेर तालको एक फन्को लगाए रु ५० शुल्क तिर्नुपर्ने छ । ज्येष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो । 

यसअघि तालमा काठको डुङ्गा सञ्चालनमा रहेको थियो । वार्षिक रु ६० हजार प्रालिले मन्दिर संरक्षण समितिलाई बुझाउने सम्झौता भएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button