झापा जिल्ला कारागारका ६९ जना महिला कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य सेवा

झापा । जिल्ला कारागार झापाका ६९ जना महिला कैदीबन्दीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । बीएण्डसी अस्पताल बिर्तामोडको सहयोगमा कारागारमा रहेका कैदी बन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको स्वास्थ्य जाँचका क्रममा कारागारमा रहेका अधिकांश महिला कैदीबन्दीमा छाला तथा यौन रोगको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
कारागारमा रहेका कैदीबन्दीको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.उपशना कोइराला सहित फिजिसियन डा रोशन काफ्ले, चर्करोग विशेषज्ञ डा.निस्तुक बराल, नेत्ररोग विशेषज्ञ कृष्ण रजक ,अर्थाेपेडिक सर्जन डा राजीव शाहा लगायतले महिला कैदी बन्दीको स्वास्थ्य जाँच गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।
कारागारमा कैदीबन्दीको स्वास्थ्य जाँचका लागि एक जना मात्र अहेव हुँदा जिल्ला कारागार झापामा रहेका कैदी बन्दीलाई समस्या हुने गरेको पाइएसँगै बीएण्डसी अस्पतालले कारागारमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क वितरण गरेको हो ।
क्षमता भन्दा झन्डै तेब्बर बढी कैदी बन्दी रहेको कारागारमा २ जना बालबालिका सहित एक हजार २ सय ८५ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७० जना महिला कैदीबन्दी रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्